My song
त्यही हात फूल थियो त्यही हात काँडा भयो
त्यही मुटु नजिक थियो त्यही मुटु टाढा भयो
¤¤¤ ¤¤¤
पुरिएका खाल्डो पनि भासिएर जान थाल्यो
बिर्सिएका घाउ पनि बल्झिएर दु:ख्न थाल्यो
जताततै पराई देख्छु समयले धोका दियो
दु:खमाथि पिर थपी आफ्नो मान्छे टाढा भयो
¤¤¤ ¤¤¤
त्यही बात साथ थियो त्यही बात घात भयो
त्यही साँझ मात थियो त्यही साँझ रात भयो
¤¤¤ ¤¤¤
पाहुनालाई बास दिँदा
आफ्नै मुटु नास गरयो
सँगै हाँस्यौ रुने बेला एक्लो छाडी ओझेल परयो
थोरै क्षणको न्यानो ताप्दा धेरै चिसो लाग्यो
एकैछिनको भेट पनि जिन्दगीलाई भारी पुग्यो
¤¤¤ ¤¤¤
एउटा सानो छाप पनि कति ठूलो पाप भयो
मेरो आगो दुनियाँलाई हात सेक्ने राप भयो
¤¤¤ ¤¤¤
गीत
पाखैभरि गुराँस फुल्थ्यो सुनाखरी फुल्थ्यो
मृगहरु हुलै बाँधी पहरामा डुल्थ्यो
क्षितिजमा रातो घाम बिहानीको झुल्थ्यो
मेरो देश छोडी आएँ रमाईलो हुन्थ्यो
¤¤¤
सपनीमा देख्छु मात्रै झस्किएर उठ्छु
जानुपर्ने मरुभूमि कामतिरै जुट्छु
आफ्नो गाउँको खेतबारी बाँझै राखी आएँ
पराइको दास हजुर ठूलै सास्ती पाएँ
¤¤¤
धनी बने विदेशी नै हाम्रो रगत चुसी
हामीलाई लदाएर खान्छन् बसिबसी
हामी पनि मूर्ख उस्तै धनको माया गरयौँ
देशको माटो नचिनेर पराई सहर छिरयौँ
¤¤¤ ¤¤¤
09:30pm Fri 03-12-2010
Poem
हे छोरा हो !
फाली काँडा कुसुमपथको आउ झञ्झा बनेर
जाउन् थोत्रा द्रुम पनि त्यही बज्रले नै ढलेर
नेपालीको अभिरुचि नयाँ एक गन्तव्य देऊ
आँधीबेरी सरि बनि तिमी क्रान्तिको गीत गाऊ
¤¤¤ ¤¤¤
जिब्रा डामेपनि अब तिमी द्रोहको वाणि बोल
आँखै टालुन् विचलित नभै भ्रान्तिको जाल खोल
यौटा कालो रजनि नबिती हुन्न कैल्यै बिहानी
हे ! छोरा हो विरसपुतका बन्नू रातो निशानी
¤¤¤ ¤¤¤
राताम्मे भै हिमशिखरमा फुल्न थाल्यो गुराँस
नौलो बाटो हिँड तरुण हो चल्छ मीठो सुबास
थोत्रेका ती नियम युगको भष्म पार्नू जलाई
देखाउनू सबल सहसा धर्ति आफ्नै फलाई
¤¤¤ ¤¤¤
10:21pm Fri 03-12-2010